मकवानपुर । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले सामाजिक सञ्जालमार्फत गाँजा खेती फडानीप्रती तीव्र असन्तुष्टि व्यक्त गर्दै चेतावनीमूलक धारणा सार्वजनिक गर्नुभएको छ ।
भेटवालले आफ्नो फेसबुकमार्फत लेख्दै भन्नु भएको छ —
“गाँजा, कृषि हाम्रो धरतीले हामीलाई दिएको उपहार हो ! कि हामीलाई बिकल्प दे, कि गरिखान दे ! देशको विपत् परिस्थितिमा आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनु पर्ने ठाँउमा उल्टै त्रास सिर्जना भइरहेको छ ।”
उहाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रसङ्ग उठाउँदै केही सुरक्षाकर्मीहरूले अनावश्यक रूपमा आम नागरिकलाई दुःख दिने व्यवहार देखाएको उल्लेख गर्नु भएको छ । भेटवालका अनुसार प्रहरी प्रशासनले “सुरक्षा दिने” ठाउँमा “त्रास र पीडा दिने” भूमिका खेलेको भन्दै उहाँले तीव्र आपत्ति जनाउनु भएको हो ।
उहाँले लेख्नुभएको छ —
“नागरिकले बाँच्न नपाउने ? कर्म गरी खान नपाउने ? आम नागरिकमा सुरक्षा प्रत्याभूति दिन सक्दैनौं भने त्यसको विकल्प के हो ? अब समय आएको छ — प्रतिकार हुने छ ।”
भेटवालले नेतृत्व र प्रशासन दुवैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै थप लेख्नु भएको छ —
“गलत व्यवस्थापन गर्नेलाई सहन सकिन्न । जसको नेतृत्व कमजोर छ, उसको हिसाब पनि मागि नै पर्ने छ । सचेत रहनुहोस्, अब प्रतिकार गरिन्छ, गर्ने नै हो ।”
अन्त्यमा उहाँले कडा चेतावनी दिँदै लेख्नु भएको छ —
“अब कमिसनका खेलमा सहिँदैन, कर्म गरी खान दे, शुभ रात्री।”
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राजेश भेटवालको यो स्टाटस अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ । धेरैले उहाँको भनाइलाई “जनताको आवाज” भनेर समर्थन गरेका छन् भने केहीले यसलाई “कडा तर सत्य टिप्पणी” भनेर व्याख्या गरेका छन् ।











